ट्रेन्डिङ

जेनजी आन्दोलनका क्रममा पक्राउ परेका २५० जना हाजिरी जमानीमा रिहा

वीरगन्ज । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत लगायत राष्ट्रिय सम्पदामाथि आगजनी, लुटपाट र प्रहरी चौकीमा आक्रमण गरेको अभियोगमा पक्राउ परेका करिब २५० जना व्यक्तिहरू हाजिरी जमानीमा रिहा भएका छन्।

महानगरीय प्रहरी कार्यालय मातहतका युनिटहरूबाट पक्राउ परेका उनीहरूलाई गृह मन्त्रालयको निर्देशनपछि छाडिएको हो। गृह मन्त्रालयले जाँचबुझ आयोगको प्रतिवेदन नआई कसैमाथि धरपकड नगर्ने वक्तव्य जारी गरेसँगै उनीहरू दशैँको समयमा रिहा भएका हुन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले विभिन्न घटनामा संलग्नताको आधारमा पक्राउ परेकाहरूलाई बयान लिएर छाडिएको बताएका छन्। यद्यपि, महाराजगञ्ज र कोटेश्वरका प्रहरीको हत्या जस्ता जघन्य अपराधमा संलग्न भएकाहरू भने अनुसन्धानमै रहेका छन् र उनीहरूलाई रिहा गरिएको छैन।

प्रहरीले विभिन्न भिडिओ फुटेज, फोटो र प्रमाणका आधारमा उपद्रवमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो।

आगजनी, लुटपाट र विध्वंसमा संलग्न भई बयान हाजिरीमा छुटेकाहरूले उन्मुक्ति भने पाएका छैनन्। प्रहरी अधिकारीहरूका अनुसार, उनीहरू जेनजी आन्दोलनको दबाब र सरकारको निर्देशनपछि प्रहरीले खोजेको बेला उपस्थित हुने गरी रिहा भएका हुन्।

परिसरका एक प्रहरी अधिकृतले सबै पक्राउ परेकाहरूको बयान कागज भइसकेको र धेरैको प्रमाण संकलन भएको जानकारी दिए। बयानका क्रममा धेरैजसोले हुलमुल र अन्जानमा संलग्न भएको भन्दै प्रत्यक्ष संलग्नता अस्वीकार गरे पनि उनीहरू अनुसन्धानकै क्रममा रहेकाले कुनै पनि बेला कानुन बमोजिम कारबाही अघि बढाउन समस्या नरहेको उनले स्पष्ट पारे।

यसैबीच, उपत्यका अपराध महाशाखाका प्रमुख रमेश बस्नेतले प्रहरीले आफ्नो नियमित काम जारी राखेको र कतैबाट दबाब नरहेको बताए। उनले अहिले प्रहरीको मुख्य प्राथमिकता भागेका कैदी बन्दीलाई खोजेर बुझाउने, लुटिएका हतियार फिर्ता गर्ने र जघन्य अपराधको अनुसन्धान रहेको जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै