ट्रेन्डिङ

बिहार विधानसभा चुनावको मिति घोषणा : नोभेम्बर ६ र ११ मा मतदान

वीरगन्ज । नेपालको छिमेकी भारतीय राज्य बिहारको विधानसभा चुनावको मिति घोषणा भएको छ।

राज्यको कुल २४३ सिटका लागि दुई चरणमा मतदान हुने भएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पत्रकार सम्मेलनमा जनाए अनुसार मतदान नोभेम्बर ६ र ११ मा हुनेछ भने नतिजाको घोषणा नोभेम्बर १४ मा गरिनेछ।

पहिलो चरणको लागि मनोनयन दर्ता गर्ने अन्तिम मिति अक्टोबर १७ र दोस्रो चरणको लागि अक्टोबर २० तोकिएको छ। हाल बिहारमा जेडीयू र बीजेपी मिलेर बनेको एनडीए गठबन्धनको सरकार छ, तर सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनलाई १२२ सिट आवश्यक पर्छ।

निर्वाचन आयोगले बिहार चुनावका लागि १७ नयाँ कदम चालेको जनाएको छ। मतदाताहरूले मतदान केन्द्रको ठीक बाहिर आफ्नो मोबाइल फोन जम्मा गर्न सक्ने र मतदान गरेपछि फिर्ता लिन सक्ने व्यवस्था मिलाइएको छ।

बिहार विधानसभा चुनावका लागि कुल मतदाता संख्या लगभग ७४.३ मिलियन (७ करोड ४३ लाख) छ, जसमा करिब १४ लाखभन्दा बढी पहिलो पटकका मतदाता समावेश छन्। निर्वाचन आयोगले कुल ९०,७१२ मतदान केन्द्रहरू स्थापना गरेको छ र सबै मतदान केन्द्रहरूमा वेबकास्टिङको व्यवस्था गरिएको छ।

यसपटक पनि राज्यमा मुख्य प्रतिस्पर्धा सत्तारुढ एनडीए र प्रतिपक्षी महागठबन्धन बीच हुने मानिएको छ। एनडीएमा जेडीयू, बीजेपी, एलजेपी (आर) लगायतका दलहरू छन् भने महागठबन्धनमा आरजेडी, कांग्रेस, सीपीआई, सीपीएमलगायतका दलहरू समावेश छन्।

यी दुई गठबन्धन बाहेक, प्रशान्त किशोरको जनसुराज पार्टीले पनि ठूलो चर्चा बटुलिरहेको छ। शिक्षा, रोजगारी, सराबबन्दी(मदिरा निषेध) खोल्ने र पलायन रोक्नेजस्ता मुद्दा उठाएको जनसुराजलाई बिहारमा तेस्रो शक्तिको रूपमा हेरिएको छ। असदुद्दीन ओवैसीको एआईएमआईएम पार्टी भने कुनै पनि ठूलो गठबन्धनको हिस्सा छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै