जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८, अरङमा ५ दलित परिवारको घर तोडफोड तथा लुटपाट गरेको गम्भीर आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन्।
शुक्रबार साँझ करिब ५ बजेतिर, अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच दलित परिवार शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घरमाथि एक समूहले आक्रमण गरेको थियो।
पीडितहरूका अनुसार, राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंह लगायत २० देखि २५ जनाको समूहले घरेलु सामान तोडफोड तथा लुटपाट गरेका थिए। यो आक्रमण प्रहरीकै अगाडि भएको थियो। पछि मिर्चैया र सशस्त्र प्रहरीको थप टोली पुगेपछि मात्र आक्रमणकारीहरू भागेका थिए।
पीडित परिवारले सो घटनामा संलग्न भएको भन्दै वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।
सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माका अनुसार, वडाध्यक्ष रामकिशोर यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी अन्यको खोजी कार्य जारी छ।
वडाध्यक्ष यादवका अतिरिक्त जाहेरी परेका अन्य व्यक्तिहरूमा स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत रहेका छन्।
एसपी शर्माले अनुसन्धानका क्रममा १३ बाहेक थप व्यक्तिहरूको संलग्नता देखिएमा उनीहरुमाथि पनि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
स्थानीयका भनाइअनुसार, यो आक्रमण आकस्मिक थिएन। असोज १ गतेको विश्वकर्मा पूजाको क्रममा अरङ बजारमा भएको आर्केस्ट्रा स्थलमा दलित समुदायसँग प्रभास सिंहसहितका व्यक्तिहरूको विवाद भएको थियो।
त्यस विवादपछि दलित समुदायले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको रिसइबी साँध्नका लागि उनीहरूले सामूहिक रूपमा घर तोडफोड तथा लुटपाट गरेको पीडित पक्षको दाबी छ।
दलित परिवारको घरमाथि भएको यो सामूहिक आक्रमण र त्यसमा एक जनप्रतिनिधिको संलग्नताले स्थानीयस्तरमा तनाव बढाएको छ। प्रहरीले अब निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।