वीरगन्ज । वीरगन्जको गहवामाई मन्दिर छेउको सडकपेटीमा आइतबार एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मन्दिरमा लामो समयदेखि भीख मागेर बस्दै आएका वीरगन्ज महानगरपालिका–१६, नगवाका अन्दाजी ६५ वर्षीय हरिहर प्रसाद सोनार मृत भेटिएका हुन् ।
उनको मृत्युको यकिन कारण खुल्न सकेको छैन । तर, अविरल वर्षाका कारण रुझेर बिरामी परेका उनको अत्याधिक चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाइँका अनुसार, शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण पत्ता लाग्ने उनले जानकारी दिए ।