ट्रेन्डिङ

बाढीले रौतहटका भित्री सडक ठप्प, मुख्य राजमार्ग भने सञ्चालनमा

रौतहट । देशभरि परेको अविरल वर्षा र त्यसपछिको बाढीका कारण रौतहट जिल्लाका धेरैजसो भित्री सडक खण्डहरू अझै पनि अवरुद्ध रहेका छन् ।

यद्यपि, जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्व–पश्चिम राजमार्गको मुख्य खण्ड भने पूर्ण रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले हिजो असोज १८ गतेको बाढीबाट प्रभावित सडकहरूको पछिल्लो अवस्थाबारे जानकारी दिँदै नागरिकहरूलाई सुरक्षित र सचेत रहन अनुरोध गरेको छ । कार्यालयका अनुसार, बाढीका कारण हुलाकी राजमार्ग र भित्री सडक खण्डहरूमा यातायात पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका– १ र २ मा पर्ने पूर्वी पहिलो र दोस्रो लच्काको बाटो पूर्ण रूपमा खुलेको छ । तर, हुलाकी राजमार्ग अन्तर्गत राजपुर नगरपालिका – १ फतुवा गाउँतर्फ जाने लच्का र यमुनामाई गाउँपालिका–४ बडहर्वा चौक तर्फ जाने लच्कामा भने बाटो खुलेको छैन ।

यसैगरी, गौर नगरपालिका– ६ मा रहेको गौर–चन्द्रपुर सडकको सवगाढा लच्कामा सवारी साधन पूर्ण रूपमा नखुलेको अवस्था छ । यात्रुहरूको सुविधाका लागि सो स्थानमा ट्र्याक्टरबाट पैदल यात्रुहरूलाई ओसारपसारको व्यवस्था मिलाइएको छ । भित्रि सडक खण्डतर्फ, गुजरा नगरपालिका– ८ बालचनपुरबाट जङ्गलसहिया तर्फ जाने लमहाखोलामा पनि बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई सजग र सुरक्षित रहन आग्रह गर्दै जिल्लाको सुरक्षाका लागि आफूहरू सधैँ प्रतिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै