वीरगन्ज । खानाको बर्बादी एक गम्भीर आर्थिक, वातावरणीय र सामाजिक सङ्कटका रूपमा उदाएको छ।
हरेक वर्ष विश्वले १ ट्रिलियन डलरभन्दा बढी मूल्यको करिब १.०५ अर्ब टन खाना फाल्ने गरेको छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको ‘फुड वेस्ट रिपोर्ट २०२४’ अनुसार, एकातिर ७८३ मिलियन मानिस भोकसँग जुधिरहेका छन् भने अर्कोतिर अर्बौं डलरको खाना खेर गइरहेको छ।
खाना फाल्नुले जलवायु परिवर्तनलाई समेत तीव्र बनाउँछ। कुहिएको खानाबाट मिथेन ग्यास उत्सर्जन हुन्छ, जसले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनको ८ देखि १० प्रतिशत हिस्सा ओगट्छ। यसका साथै, फालिने खाना उत्पादन गर्न प्रयोग भएको पानी, जमीन र ऊर्जाजस्ता मूल्यवान स्रोतहरू पनि खेर जान्छन्। विज्ञहरूका अनुसार, उत्पादन हुने खेतको करिब ३० प्रतिशत जमीन त्यही खाना उत्पादन गर्न प्रयोग हुन्छ, जुन कसैले खानै पाउँदैन।
सन् २०२२ मा फालिएको खानामध्ये धेरैजसो उपभोक्ताको भान्साबाटै आएको थियो। विश्वका हरेक मानिसले औसतमा वर्षमा १३२ किलोग्राम खाना फालेका थिए, जसमध्ये करिब ७९ किलोग्राम सिधै घरभित्र फालिएको पाइएको छ। यो समस्या धनी वा गरिब देशमा खासै फरक छैन । उच्च र निम्न आय भएका देशका घरधुरीहरूमा खाना फाल्ने प्रवृत्ति लगभग उस्तै रहेको तथ्याङ्कले देखाउँछ।
नेपालको अवस्था चिन्ताजनक
कुल मात्रामा चीन र भारतजस्ता ठूला जनसंख्या भएका देशहरू अगाडि भए पनि, प्रतिव्यक्ति खाना फाल्ने दरमा नेपालको अवस्था निकै चिन्ताजनक छ। रिपोर्टअनुसार, नेपालले वार्षिक २.२५ मिलियन टन खाना फोहोर गर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, एक नेपाली नागरिकले वार्षिक प्रतिव्यक्ति ९३ किलोग्राम खाना फोहोर गर्छन्, जुन विश्वको औसत ७९ किलोग्रामभन्दा निकै बढी हो। यसले नेपाली समाजमा पनि खाना फाल्ने बानी व्यापक रहेको स्पष्ट पार्छ।
कुन देशले धेरै खाना फाल्छन् ?
देशगत हिसाबले हेर्दा, जनसंख्या धेरै भएकाले चीन र भारतले सबैभन्दा बढी खाना फाल्छन् । चीनले हरेक वर्ष करिब १०८.७ मिलियन टन खाना फाल्छ भने भारतले करिब ७८.१ मिलियन टन खाना फाल्छ ।
अमेरिका पनि ठूलो मात्रामा खाना फाल्ने देश हो । अमेरिकामा वार्षिक करिब २४.७ मिलियन टन खाना फालिने गरेको तथ्यांक छ । युरोपमा फ्रान्स र जर्मनीले क्रमशस् ३.९ देखि ६.५ मिलियन टन खाना फाल्ने गर्छन् ।
यसका तुलनामा, दक्षिण अफ्रिका र घानाजस्ता देशहरूले हरेक वर्ष करिब २.८ मिलियन टन खाना फाल्छन् ।
प्रतिव्यक्ति आधारमा हेर्दा भने चित्र फरक देखिन्छ । उदाहरणका लागि, भारतका हरेक नागरिकले औसतमा वर्षमा ५५ किलोग्राम खाना फाल्छन् भने अमेरिकी नागरिकले ७३ किलोग्राम ।
केही देशहरूले भने निकै कम खाना फाल्छन् । फिलिपिन्सले वार्षिक करिब ३ मिलियन टन खाना फाल्छ, तर जनसंख्यामा बाँड्दा प्रतिव्यक्ति केवल २६ किलोग्राम पर्छ । यो भारत वा अमेरिकाको तुलनामा निकै कम हो ।
खाना फाल्ने यो समस्या मानवजातीकै साझा चुनौती हो, जसले अर्थतन्त्र, वातावरण र सामाजिक न्याय सबैलाई असर गरिरहेको छ।