वीरगन्ज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि प्यालेस्टिनी समूह हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ।
ट्रम्पले तोकेको समयसीमाको ६ घण्टाभित्रै हमासले यो घोषणा गरेको हो।
हमासले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार, उनीहरू ट्रम्पको २० बुँदे शान्ति योजनाअन्तर्गत जीवित वा मृत सबै बन्दीहरूलाई रिहा गर्न र गाजाको प्रशासन छोड्न तयार भएका छन्। बन्धकहरूको सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन्।
हमासले नेपालका विपिन जोशीसहित सबै ४८ बन्दीलाई रिहा गर्ने जनाएको छ। युद्धविराम लागू भएको ७२ घण्टाभित्र बन्दीहरू रिहा गरिनेछन्। यसको बदलामा २,००० भन्दा बढी प्यालेस्टिनी कैदी र मारिएका गाजावासीहरूको शव फिर्ता गरिनेछ। हमासको घोषणापछि ट्रम्पले इजरायललाई तत्काल गाजामा हमला बन्द गर्न निर्देशन दिएका छन्।
इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले पनि ट्रम्पको योजनाको पहिलो चरण लागू गर्न तयार रहेको र युद्ध अन्त्यका लागि काम गर्ने जनाएको छ।
इजरायली सेनाले गाजामा कब्जा गर्ने कारबाही रोकेर आवश्यक अवस्थामा मात्रै अगाडि बढ्ने सरकारी आदेश पाएको छ।
हमासको सहमतिलगत्तै ट्रम्पले भिडियो सन्देश जारी गर्दै यसलाई ‘विशेष दिन’ भनेका छन्। उनले बन्दीहरू चाँडै आफ्ना परिवारकहाँ फर्कने विश्वास व्यक्त गरे पनि शान्ति सम्झौताका केही मुद्दाहरूमा अझै काम बाँकी रहेको स्वीकारेका छन्।
हमासले ट्रम्पको योजनाका केही बुँदामा थप वार्ता आवश्यक रहेको जनाएको छ, तर अल जजीराको रिपोर्टअनुसार हतियार छोड्ने विषयमा भने कुनै उल्लेख गरिएको छैन।