ट्रेन्डिङ

महोत्तरी बस दुर्घटनाका ६ गम्भीर घाइते हेलिकप्टरमार्फत काठमाडौं लगिए

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका–१०, खैरमारामा शुक्रबार बिहान भएको बस दुर्घटनाका ६ जना गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। ती घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, घारीबथानबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको ना ६ ख १४६४ नम्बरको बस बिहान सवा ७ बजे तीव्र गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका डिआइजी कृष्ण ढकाल आफैँ घटनास्थल पुगी उद्धार कार्यको नेतृत्व गरेका थिए। उद्धारमा सशस्त्र प्रहरीको ९ नम्बर गण र ३८९ नम्बरको रिजर्भ गणका सुरक्षाकर्मीहरू खटिएका थिए।

उद्धारका क्रममा सशस्त्र प्रहरी बलले मास क्याजल्टी भेहिकल प्रयोग गरेको थियो। यो विशेष एम्बुलेन्स हो, जुन विपद्को समयमा एकैपटक धेरै घाइतेहरूलाई राखेर अस्पताल पुर्‍याउन प्रयोग गरिन्छ। घाइतेहरूलाई दुर्घटनास्थलदेखि सशस्त्र प्रहरीको बाहिनीसम्म र त्यहाँबाट विमानस्थल हुँदै ट्रमा सेन्टरसम्म लैजान पनि यही विशेष एम्बुलेन्स प्रयोग गरिएको थियो।

छिन्नमस्ता बाहिनीमा ल्याइएका ६ जना गम्भीर घाइतेलाई सैनिक हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो।

दुर्घटनामा परी बसका यात्रु १२ वर्षीय प्रमिश खड्का र एक पैदलयात्रु चोलाही चौधरीको निधन भएको थियो।

हेलिकप्टरमार्फत काठमाडौं लगिएका गम्भीर घाइतेहरूमा महोत्तरी बर्दिबास नगरपालिका–१० की निर्मला तामाङ (४४ वर्ष), दिर्जमान गोले (४२ वर्ष), अस्मिता गोले (१६ वर्ष), सुनीता बिक (२० वर्ष), बिना कुमारी बिसुंखे (२३ वर्ष) र सर्लाही ईश्वरपुर नगरपालिका–१२ का प्रभाकर खड्का (१३ वर्ष) रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै