वीरगन्ज । नेपालीहरूको महान् पर्व बडा दशैंको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजनामा वीरगन्ज महानगरपालिका–१६, पशुपतिनगरस्थित दलित बस्तीमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ सम्पन्न भएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विपन्न वर्ग तथा दलित समुदायका नागरिकहरूलाई सहयोग सामग्री वितरण गर्नुका साथै सामूहिक रूपमा दशैंको शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा सो टोलमा बसोबास गर्ने ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। प्रति विद्यार्थी ६ वटा कापी र १० वटा पेन्सिलका दरले जम्मा ३०० वटा कापी र ५०० वटा पेन्सिल वितरण गरिएको थियो।
यसैगरी, सो बस्तीका ३३ घरधुरीका अभिभावकहरूलाई सरसफाइ र दैनिक प्रयोगका सामग्रीहरू एक–एक वटाका दरले वितरण गरिएको थियो। वितरित सामग्रीहरूमा बाल्टिन, जग, पिउस, जीवनजल तथा साबुन समावेश थिए। वितरणसँगै स्थानीयहरूलाई हात धुने सही तरिका समेत सिकाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
सोही अवसरमा विपन्न वर्ग तथा दलित समुदायका करिब २५० जना स्थानीयहरूलाई सामूहिक खाजा खुवाउने व्यवस्था गरिएको थियो। साथै, सो समुदायका वृद्धाहरूबाट टीका र जमरा ग्रहण गर्ने र बालबालिकाहरूलाई टीका लगाउने कार्यक्रम समेत गरिएको थियो।
कार्यक्रममा गणपर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति सप्रनाउ पुरुषोत्तम भण्डारी, बि.ओ.पि.प्रमुखहरू, वीरगन्ज–१६ का वडाध्यक्ष पर्शुराम चौरसिया, प्रहरी चौकी ईनर्वाका राजकुमार राय यादव, संचारकर्मीहरू तथा स्थानीयलगायत करिब ३०० जना व्यक्तिहरूको उपस्थिति रहेको थियो।