ट्रेन्डिङ

सुवर्ण गाउँपालिका कार्यालयमा अध्यक्षले ‘अर्केस्ट्रा’ नचाँएपछि स्थानीयको विरोध, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

कलैया । नेपाल सरकारले देशभरका सरकारी कार्यालयमा दशैँको बिदा दिएको दिन बाराको सुवर्ण गाउँपालिका कार्यालय भित्र अराजक दृश्य देखिएको छ।

गाउँपालिका अध्यक्षले अर्केस्ट्राका केटीहरू बोलाएर अशोभनीय गतिविधि गरेको भन्दै हजारौँ स्थानीय जनताले कार्यालय घेराउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

स्थानीय जेनेरेशन–जी (जेनजी) अगुवा अजय यादवका अनुसार गाउँपालिका कार्यालयभित्र गलत क्रियाकलाप भइरहेको सूचना पाएपछि स्थानीय आक्रोशित भएका थिए। ‘गाउँपालिकाका अध्यक्ष राजेश कुमार यादवले यसअघि पनि यस्ता हर्कत गर्दै आएको र जनता आजित भएर प्रतिकारमा उत्रिएको’ यादवले बताए। उनले राज्यको स्रोतसाधनको दुरुपयोग गरी मौज–मस्ती गर्नेमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन्। आक्रोशित स्थानीयले अध्यक्षको राजीनामाको समेत माग गरेका छन्।

बिहीबार राति करिब २ बजेसम्म स्थानीयको नाराबाजी र घेराउका कारण गाउँपालिका अध्यक्ष यादवलाई त्यहाँबाट निकाल्न अवस्था अत्यन्तै जटिल बनेपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । बारा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भीड नियन्त्रण गर्न कम्तीमा ४ राउन्ड अश्रुग्यास प्रहार गरिएको पुष्टि गरे।

प्रहरी नायब उपरीक्षक पण्डितका अनुसार, सुरक्षा बल परिचालनपछि अहिले परिस्थिति सामान्य अवस्थामा फर्किएको छ। आक्रोशित जनताले ढुङ्गा प्रहार गर्दा गाउँपालिकाको एउटा झ्यालको सिसा फुटेको उनले जानकारी दिएका छन्।

धार्मिक पर्वका दिन सरकारी कार्यालयभित्रै यस्ता अश्लिल र गैरजिम्मेवारपूर्ण गतिविधि भएको भन्दै स्थानीयले कडा विरोध जनाएका छन्। यस विषयमा थप छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घटनाका विषयमा प्रतिक्रिया लिन खोज्दा गाउँपालिका अध्यक्ष राजेश कुमार यादव भने सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै