वीरगन्ज । बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणालीका कारण मधेश प्रदेशमा आगामी असोज १७ गतेदेखि असोज २० गतेसम्म मनसुनी गतिविधि तीव्र हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागले मधेश प्रदेशका बासिन्दालाई नारायणी, बागमती, कमला र कोशी नदीका सहायक नदीहरूमा बहाव बढ्ने भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
विभागका अनुसार, न्यून चापीय प्रणाली भारतको ओडिसाबाट जमिनको भूभागमा प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। यसै प्रणालीका कारण नेपालमा जलवाष्प युक्त मनसुनी वायु भित्रिनेछ, जसले विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय गराउनेछ।
यस अवधिमा मधेश प्रदेशमा बाढी र डुबानको जोखिम निकै बढेको छ। प्रदेशबाट बहने नारायणी, बागमती, कमला र कोशी नदी तथा यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।
त्यस्तै, मधेश प्रदेशका चुरे क्षेत्र भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना उच्च रहेको विभागको पूर्वानुमान छ। विभागले विशेषगरी बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको उल्लेख गर्दै असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
नदी तटीय क्षेत्रका बासिन्दा र चुरे क्षेत्र नजिक बसोबास गर्नेहरूलाई विशेषगरी रातको समयमा सतर्क रहन सुझाव दिइएको छ।