वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा आज ऐतिहासिक कुस्ती प्रतियोगिता तथा मेला सफलतापूर्वक सम्पन्न भएको छ।
हरेक वर्षझैँ यसपालि पनि नगवा -१६ मा रहेको ऐतिहासिक बौधीमाई मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको थियो।
बौधीमाई मन्दिर विकास समितिले यो मेला तथा कुस्ती प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलमानहरूले आफ्नो बल र कौशल प्रदर्शन गरेका थिए। खासगरी भारतको बेतिया र बनारसका कुस्ती खेलाडीहरूको सहभागिताले प्रतियोगिता रोमाञ्चक बनेको थियो।
समितिले कुस्ती खेलमा सहभागी हुने नेपाल र भारतका खेलाडीहरूलाई नगद उपहारसहित सम्मान गरेको थियो। यो प्रतियोगिताले दुई देशका खेलाडीहरूबीचको भाइचारा र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले बताएको छ।
मेला समिति तथा कुस्तीको व्यवस्थापनमा मेला समितिका अध्यक्ष रामआधार चौरसिया, विश्रामपुर गाउँपालिकाका पूर्व अध्यक्ष अमीरी लाल पाल, वडा नम्बर १६ का वडा सदस्यहरू, मेला समितिका सदस्यहरू, सुरक्षाकर्मी, पत्रकार लगायत भलाद्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बौधीमाई मन्दिरको मेला र कुस्ती प्रतियोगिताले यस क्षेत्रको धार्मिक र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ।