ट्रेन्डिङ

वैदेशिक रोजगारीको त्रासदी : साउन–भदौमा मात्र १४२ शव नेपाल ल्याइयो

वीरगन्ज । परिवारको छाक टार्ने र सुखको सपना बोकेर दैनिक करिब २५ सय नेपालीले आफ्नो माटो छोड्छन्।

तर, वैदेशिक रोजगारीको कठोर यात्रामा थुप्रैको सपना परदेशमै टुट्छ। साहुको ऋण तिर्ने र घर बनाउने रहर बोकेका ती युवाहरू झोलाभरि नानाको सट्टा बाकसमा कैद भएर घर फर्कन्छन्। वैदेशिक रोजगारमा गएका नेपालीको यो दुःखद तथ्याङ्क बढिरहेको छ।

वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिना (साउन र भदौ) मै १४२ जना नेपालीको शव नेपाल ल्याइएको छ। साउनमा ४३ जना र भदौमा ९९ जनाको शव स्वदेश ल्याइएको थियो।

बोर्डका अनुसार कुलमध्ये ८३ जनाको शव बोर्डकै खर्चमा विदेशबाट नेपालसम्म ल्याइएको थियो भने बाँकी शवहरू सम्बन्धित कम्पनी तथा अन्य निकायको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुगेको थियो। बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव एयरपोर्टबाट घरसम्म निःशुल्क ढुवानी गर्दै आएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा भने कुल १,०८६ जनाको शव ढुवानी गरिएको थियो।

वैदेशिक रोजगार बोर्डले मृतक कामदारका परिवारलाई विभिन्न प्रकारका आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

श्रम स्वीकृति लिएर गएका कामदारको मृत्यु भएमा परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरिन्छ। गम्भीर बिरामी वा अंगभंग भएका श्रमिकलाई ७ लाख रूपैयाँसम्म उपचार खर्च दिइन्छ, तर यसका लागि नेपालमा उपचार गरेको हुनुपर्छ।

मृतक वा पूर्ण अशक्त भएका कामदारका सन्तानलाई आधारभूत तहसम्म १२ हजार र माध्यमिक तहसम्म १६ हजार रूपैयाँ वार्षिक छात्रवृत्ति दिइन्छ। साथै, श्रमिकका परिवारलाई ५० हजार रूपैयाँ स्वास्थ्य उपचार सहयोगवापत प्रदान गरिन्छ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २६८ जना मृतक कामदारका परिवारलाई बोर्डले आर्थिक सहायता प्रदान गरिसकेको छ। बोर्डले मृत्यु वा अंगभंग भएको एक वर्षभित्र निवेदन दिइसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै