ट्रेन्डिङ

पर्साको बन्जारी नाकाबाट ९ किलो चरेससहित भारतीय युवक पक्राउ

वीरगन्ज । नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध लागू औषध चरेस बरामद गरेको छ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीस्थित भिस्वा–जानकी टोला सडकखण्डमा गरिएको विशेष चेकजाँचका क्रममा एक भारतीय नागरिकलाई करिब साढे नौ किलो चरेससहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारत, बिहार राज्यको पश्चिम चम्पारण जिल्ला, बेतियाको कोईरीया टोलाका ३१ वर्षीय गुलाम मोहमद रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपालका उपरीक्षक पुरनचन्द भट्टले दिएको जानकारीअनुसार मोहमदले बीआर २२ जे ३५५० नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरी लागू औषध नेपालतर्फ ल्याउँदै थिए। चेकजाँचका क्रममा उनको साथबाट ९ किलो ५२२ ग्राम चरेस बरामद भएको हो।

नेपालमा लागू औषधको तस्करी रोक्न सीमा क्षेत्रमा सुरक्षाकर्मीले कडाई गरिरहेका बेला यो बरामदगीलाई सशस्त्र प्रहरीले महत्त्वपूर्ण सफलता मानेको छ। पक्राउ परेका मोहमद र बरामद गरिएको चरेस तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक भट्टले जानकारी दिए। सीमा क्षेत्रबाट लागू औषधको ओसारपसार नियन्त्रणका लागि सुरक्षा गस्ती बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै