ट्रेन्डिङ

मधेशका शक्तिपीठहरूमा खोइछ भर्ने महिलाको घुइँचो

 

जनकपुरधाम । बडा दशैँको सप्तमी र महाअष्टमीको विशेष अवसरमा मधेशका शक्तिपीठहरू अहिले श्रद्धालु भक्तजन, विशेषगरी महिलाहरूको भीडले भरिएका छन्। पति र सन्तानको रक्षा तथा दीर्घायुको कामना गर्दै महिलाहरूले श्रद्धापूर्वक दुर्गा नव दुर्गा भवानीको ‘खोइछ’ भर्ने परम्परा अनुसार आज बिहानैदेखि मन्दिरहरूमा लामो लाइन लागेको छ।

जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा त हिजो मध्यरातिदेखि नै हजारौं महिलाले खोइछ भरिसकेका छन् भने धेरै महिलाहरू अहिले पनि पालो कुरेर लाइनमा उभिएका छन्। राजदेवीसहित धनुषाको रामानन्दचोक लगायत मधेशका सम्पूर्ण शक्तिपीठहरूमा सप्तमी र अष्टमीको यो पवित्र विधिमा सहभागी हुन ठूलो सङ्ख्यामा महिलाहरूको उपस्थिति छ।

यो विशेष पूजा विधिमा महिलाहरूले शक्तिपीठहरूमा चुन्दरी (चुनरी) ओच्छ्याएर त्यसमाथि पान, सुपारी, सिन्दुर, चुरा, फलफूल र अन्य पूजा सामग्रीहरू राख्ने गर्छन्। सबै सामग्रीहरूलाई चुन्दरीमा बाँधेर माताको चरणमा चढाउने विधिलाई नै ‘खोइछ भराइ’ भनिन्छ।

खोइछ भर्ने महिलाहरूको अतिरिक्त, सप्तमी र महाअष्टमीमा शक्तिपीठहरूमा लड्डु चढाउने श्रद्धालुहरूको भीड पनि निकै बाक्लो रहेको छ। दशैँको यो महत्त्वपूर्ण पर्वले मधेशमा धार्मिक उत्साह र भक्तिभावको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै