वीरगन्ज । लोकसेवा आयोगको वार्षिक प्रतिवेदनले पछिल्लो १७ वर्षमा समावेशी समूहबाट निजामती सेवामा स्थायी नियुक्ति पाउने कर्मचारीको कुल सङ्ख्या २५ हजार २१८ पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ।
आयोगले वि.सं. २०६४ सालदेखि आर्थिक वर्ष २०८०–०८१ सम्मको अवधिमा प्रचलित कानुन अनुसार तोकिएका विभिन्न छ समावेशी समूहका उम्मेदवारहरूलाई प्रतिस्पर्धा गराउँदै पदपूर्ति गर्दै आएको छ।
प्रतिवेदन अनुसार, विगत १७ वर्षमा सिफारिस भएका कुल २५ हजार २१८ उम्मेदवार मध्ये मधेशी समूहबाट मात्र ५ हजार ४९६ उम्मेदवारले लोकसेवाको जागिरमा स्थायी नियुक्ति पाएका छन्।
पछिल्लो आर्थिक वर्ष २०८०–०८१ मा मात्रै समावेशी विज्ञापनबाट १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार, यी सबै समावेशी समूहका उम्मेदवारहरू खुला विज्ञापनतर्फको प्रतिस्पर्धाबाट समेत स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।
