काठमाडौं । आज नवरात्रको आठौँ दिन महागौरी देवीको पूजाआजा गरिँदैछ ।
दुर्गा पूजाको आठौँ स्वरूप महागौरीको उपासनालाई विशेष महत्व दिइएको छ ।
धार्मिक विश्वासअनुसार महागौरीको आराधनाले भक्तजनका पूर्वसञ्चित पाप नाश हुने र भविष्यका बाधा–सन्ताप टर्ने विश्वास गरिन्छ ।
शास्त्रमा वर्णन भएअनुसार गोरो वर्ण, सेतो पहिरन र गरगहना धारण गरेकी, वृषवाहनमा आरूढ महागौरी चार हातकी देवी मानिन्छिन् ।
उहाँको दाहिने हातमा अभयमुद्रा र त्रिशूल रहन्छ भने बायाँ हातमा डमरु र वरमुद्रा अङ्कित छ ।
शिवपुराणका अनुसार बाल्यकालमै महादेवलाई पति पाउने संकल्पसहित कठोर तपस्या गरेकी पार्वती तपस्याका कारण कालो बनेकी थिइन् ।
पछि भगवान् शिवले गंगाजल स्नान गराएपछि उनी गोरी भएकीले ‘गौरी’ नाम रहन गएको उल्लेख पाइन्छ ।
आजको दिन देशभरका शक्तिपीठहरूमा विशेष पूजा–आराधना तथा बलि अर्पण गरिन्छ ।
उपत्यकामा गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकालीलगायतका मन्दिरमा बलिसहित पूजा भइरहेको छ ।
उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, नालाभगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोकसहितका शक्तिपीठहरूमा पनि पूजाआजा सम्पन्न भइरहेको छ ।
बलि नचढाउने परम्परा भएका परिवारमा भने काँक्रो, घिरौँला, कुभिन्डो, मूला वा नरिवललाई प्रतीकात्मक बलि चढाएर पूजा गर्ने चलन छ ।
यस दिन कलपूर्जा, हातहतियार तथा सवारी साधनलाई सरसफाइ गरी देवीस्थानमा राखेर पूजाआजा गर्ने प्रचलन पनि रहिआएको छ ।
यी सामग्रीलाई देवीका शस्त्रास्त्रका रूपमा मानी आराधना गरिन्छ ।