वीरगन्ज । चाडपर्वलाई लक्षित गरी लागू गरिएको विशेष सुरक्षा योजनाअनुसार प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट दुई जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको ‘डग स्निफिङ’ (सुँघ्ने कुकुरसहितको)टोलीले आइतबार बेलुका ४ बजेदेखि ६ बजेको बीचमा भारतको रक्सौलबाट नेपाल आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा चितवन रत्ननगर बस्ने २७ वर्षीय कैलाश कार्कीको साथबाट २.५३० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने लागूऔषध फेला परेको छ। त्यस्तै, वीरगन्ज – १० अशोक वाटिका बस्ने २० वर्षीय राहुल सरार्फले लगाएको पाइन्टको गोजीबाट १०० मिलिलिटरको ओनेरेक्स् लेखिएको लागूऔषधयुक्त कफ सिरप एक बोतल बरामद भएको छ।
पक्राउ परेका दुवै व्यक्तिलाई बरामद लागूऔषधसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा राखिएको प्रहरी चौकी इनर्वाले जनाएको छ। प्रहरीले चाडपर्वका बेला हुन सक्ने लागूऔषध कारोबार नियन्त्रणका लागि सीमा क्षेत्रमा सुँघ्ने कुकुरसहितको सुरक्षा जाँच कडा पारेको छ।