ट्रेन्डिङ

गहवामाईमा परम्परागत फूलपाती भित्र्याइयो

वीरगन्ज । नेपालीहरूको महान चाड बडा दशैँको सातौँ दिन फूलपाती पर्व आज परम्परागत हर्षोल्लासका साथ मनार्इदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासहित सुरु भएको नवदुर्गा भवानीको पूजाआजा अन्तर्गत आज सप्तमीका दिन वीरगन्जको ऐतिहासिक गहवामाई मन्दिरमा विशेष विधिपूर्वक फूलपाती भित्र्याइएको हो।

वीरगन्जको यस उत्सवमा सदियौँ पुरानो परम्परा आज पनि जीवन्त रह्यो। छपकैयास्थित मालपोत कार्यालयको दशैँघरबाट फूलपाती ल्याउने विशेष कार्य सम्पन्न गरियो।

मालपोत कार्यालयको मन्दिरबाट नेपाली सेनाको टुकडीले शुभ साइतको प्रतीक मानिने फूलपातीलाई गहवामाई मन्दिरसम्म पुर्‍याएको थियो। यस अवसरमा सेनाको ब्यान्ड बाजा र सलामीले वीरगन्जको वातावरणलाई थप भक्तिमय बनाएको थियो।

वैदिक विधिअनुसार शक्तिको प्रतीक मानिने नौ देवीको स्वरूपमा नवपत्रिकाको पूजा गरिन्छ। आज घर–घर तथा मन्दिरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल लगायतका नौ प्रकारका नयाँ पालुवा तथा सामग्रीहरू भित्र्याइएको छ।

फूलपाती भित्र्याउने यस विशेष समारोहमा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठक, स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै