वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक विवाद चुलिँदै गएको सङ्केत देखिएको छ। पार्टीकी नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले सार्वजनिक रूपमै पार्टीको संस्थापन पक्ष विरुद्ध गम्भीर आरोप लगाएकी छन्।
उनले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ भइरहेको भन्दै आपत्ति जनाएकी छन्। कार्कीले फेसबुकमा लेख्दै पार्टीलाई सुदृढ, सफल र ‘समय सापेक्षिक रुपान्तरण’ गर्नुपर्छ भनेर जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठाउँदा आफूलाई बुलिङ गरिएको उल्लेख गरेकी छन्।
डा. कार्कीले संस्थापन पक्षलाई सिधै चुनौती दिँदै ‘खुल्ला विशेष अधिवेशन’ फेस गर्न आग्रह गरेकी छन्।
‘साइबर बुली र मिडिया ट्रायल गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्,’ उनले लेखेकी छन् ।
कार्कीले पार्टीभित्र आफ्ना विरुद्ध अफवाह फैलाइएकोमा आक्रोश पोखेकी छन्। कहिले ‘राजीनामा दिन लाग्यो’ भनेर त कहिले पार्टीलाई ‘सफल बनाउने उद्देश्यले पेश गरिएको पत्र’लाई राम्रोसँग अध्ययन नगरी ‘पार्टी सभापतिको विकल्प खोज्यो’ भनी विषयलाई अतिरञ्जित गरिएको उनको गुनासो छ।
उनले आफूलाई पार्टीबाट निकाल्नुपर्छ भनी भ्रम छर्ने प्रयास भइरहेको समेत उल्लेख गरेकी छन्।
नेतृ कार्कीले लाखौँ कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर पार्टी सभापतिको आशीर्वादबाट पाएको जिम्मेवारी सम्हाल्ने आँट आफूसँग भएको बताएकी छन्।
उनले ‘प्रोपागाण्डा र हेपाहा बोली’सँग रत्तिभर नडराउने प्रष्ट पार्दै आफू पार्टीको हितका लागि आवाज उठाउन पछि नहट्ने सङ्केत दिएकी छन्।
