वीरगन्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमी तथा दीपावलीको अवसरमा दिएको शुभकामना सन्देशमा देशको वर्तमान अवस्था र नयाँ पुस्ताको महत्त्वलाई केन्द्रमा राखेका छन्।
उनले स्पष्ट शब्दमा भनेका छन् कि नयाँ पुस्ताको अभिलाषा र इच्छालाई वर्तमान राज्यव्यवस्थाले समेट्नै पर्छ।
पूर्व राजा शाहले शुभकामना सन्देशमार्फत आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याउँदै युवाहरूको मागलाई समर्थन गरेका छन्।
पूर्व राजाले यस वर्ष सर्वसाधारणलाई टिका नलगाइदिने घोषणा गरेका छन्। हालै भएको जेनजी आन्दोलनका क्रममा भएका दुःखद घटनाहरूले देश शोकमग्न भएको भन्दै उनले संवेदनशील वातावरणलाई मध्यनजर गरेर सार्वजनिकरूपमा टिका लगाइदिने कार्यक्रम स्थगित गर्ने निर्णय लिएको बताएका छन्।
उनले वर्तमान परिस्थितिलाई ‘राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको’ भन्दै यसपटकको दशैँलाई पारिवारिक र सांस्कृतिक रूपमा मात्र सीमित गर्न बाध्य भएको जनाएका छन्।
सन्देशमा पूर्व राजाले ‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ’ भन्नेमा जोड दिएका छन्।
उनले ‘जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ भन्दै युवाहरूलाई उज्ज्वल भविष्यको कामना पनि गरेका छन्।
