ट्रेन्डिङ

राष्ट्रिय मुक्ति पार्टीले मनोनित गर्यो ९ राष्ट्रिय परिषदका प्रमुख

वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालले विभिन्न नौवटा जातीय राष्ट्रिय परिषदमा प्रमुखहरू मनोनयन गरेको घोषणा गरेको छ।

पार्टीले यस कदमलाई संयुक्त राष्ट्र संघको स्वदेशी समुदाय/जातिको अधिकार घोषणापत्र (UNDRIP)-२००७ र  ILO महासन्धि नं. १६९ ले सुनिश्चित गरेको आत्मनिर्णय तथा स्वशासनको अधिकारलाई वैधानिक रूपमा अभ्यास गर्ने प्रयासको रूपमा व्याख्या गरेको छ।

पार्टीको अन्तरिम विधान २०८१ अनुसार गरिएको यस मनोनयनमार्फत तमु राष्ट्रिय परिषदको प्रमुखमा कमला कुमारी गुरुङ, नेवा ः राष्ट्रिय परिषदमा सुमन सायमी, तामाङ राष्ट्रिय परिषदमा मिङ्गमार तामाङ, लिम्बू राष्ट्रिय परिषदमा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषदमा जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषदमा चन्द्र प्रसाद राजवंशी, खस राष्ट्रिय परिषदमा शेर बहादुर शाह, थारु राष्ट्रिय परिषदमा चन्द्रकान्त चौधरी र मधेशी राष्ट्रिय परिषदमा अनिल कुमार सिंहलाई जिम्मेवारी दिइएको छ।

पार्टीले यी परिषदहरू ‘छाया सरकार’ नभई स्वदेशी राष्ट्रहरूको स्वशासन विधान निर्माण, सांस्कृतिक संरक्षण (भाषा, धर्म, परम्परा), भूमि अधिकार (पुर्खौली भूमि र प्राकृतिक स्रोतमा नियन्त्रण), र आर्थिक आत्मनिर्भरता (सामुदायिक अर्थतन्त्र)जस्ता मुख्य कर्तव्यहरू पूरा गर्नका लागि गठन गरिएको स्पष्ट पारेको छ।

औपनिवेशिक शासन प्रणालीले हरण गरेका स्वदेशी राष्ट्रहरूको अधिकार पुनर्स्थापना गर्दै ग्राम स्वराज र राष्ट्रिय स्वशासनबीच समन्वय कायम गर्न, बहुल राष्ट्र सभा गठनको तयारी गर्न र राष्ट्रिय बाहिनीहरूको गठन प्रक्रिया प्रारम्भ गर्न मनोनित प्रमुखहरूलाई तत्काल निर्देशन दिइएको छ। यो पहलले शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट स्वदेशी समुदायको अन्तर्राष्ट्रिय कानूनी मान्यता प्राप्त अधिकार सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै