वीरगन्ज । जेनजी आन्दोलनका क्रममा उच्च पदस्थ नेताहरूको निवासमा भएको आगजनी र त्यसपछि सामाजिक सञ्जालमा भाइरल बनेका ‘जलेका नोटका भिडियो’ बारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गम्भीर अनुसन्धान सुरु गरेको छ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा भएको घटनासँग जोडिएको सम्पत्ति र त्यसको वैधानिकतामाथि अब छानबिन हुने भएको हो।
अर्थ मन्त्रालय मातहत ल्याइएको विभागले मंगलबार प्रचण्डको तत्कालीन खुमलटार निवास पुगेर घटनास्थलको मुचुल्का तयार पार्दै जलेका भनिएका नोट र विवरण सङ्कलन गरेको छ। विभागले आगजनीपछि घरभित्र रकम जलेको अवस्थामा देखिएका भनिएका भिडियो र तस्बिरहरूको सत्यता परीक्षण गरिरहेको छ।
सामाजिक सञ्जालमा भाइरल भएका ती भिडियोहरू वास्तवमै प्रचण्ड निवासको हो वा होइन भन्ने पुष्टि गर्न विभागले फरेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ। विभागका अनुसार कतिपय भिडियोहरू विदेशमा जलेका नोटसँग सम्बन्धित पनि भाइरल भएकाले, अनुसन्धान र परीक्षणपछि मात्र वास्तविक तथ्य बाहिर आउनेछ।
यसअघि नै विभागले देउवा र खड्काको निवासमा पनि मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइसकेको थियो। टोलीले दुवै नेताको जलेको घरबाट नोटका केही टुक्राहरू र खरानी सङ्कलन गरेको छ। यसबाहेक, जलेका केही नोटहरू फेला पारेका व्यक्तिहरूले समेत अनुसन्धानमा सघाउन भन्दै प्रहरीलाई बुझाएको जानकारी प्राप्त भएको छ।
यदि यी स्थानमा रकम जलेको पुष्टि भएमा, विभागले त्यसलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको रूपमा अघि बढाउनेछ। जलेको रकमको स्रोत र त्यसको कानुनी अवस्था बारे विस्तृत अनुसन्धान हुनेछ।
प्रारम्भिक अनुमान अनुसार, आगजनीका क्रममा धेरैजसो रकम लुटपाट भएको र जलेका नोटहरूका केही टुक्रा मात्र फेला परेको विभागको भनाइ छ। हाल अनुसन्धानलाई सहयोग पुर्याउनका लागि प्रचण्ड र देउवा निवासमा प्रवेश निषेध गरिएको छ। यो अनुसन्धानले आन्दोलनका क्रममा भएको क्षति र त्यसको पछाडिको वित्तीय रहस्यलाई उजागर गर्ने अपेक्षा गरिएको छ।