ट्रेन्डिङ

वीरगन्ज भन्सारमा १७९ चारपाङ्ग्रे सवारीसाधन रोकिँदै, जाँचपास प्रक्रिया जारी

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी ९आईसीपी० र सुक्खा बन्दरगाहमा १७९ चारपाङ्ग्रे सवारीसाधन भन्सार जाँचपासको पर्खाइमा रहेका छन्।

वीरगन्ज भन्सार कार्यालयका अनुसार यी सवारीसाधन आवश्यक जाँच र कागजी प्रक्रिया पूरा नभएकाले हालसम्म यार्डमै रोकिएका हुन्। भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार आईसीपीमा ७५ र सुक्खा बन्दरगाहमा १०४ वटा सवारीसाधन थन्किएका छन्।

उनले भने, “आयातकर्ताले चाडपर्वलाई लक्षित गरेर जाँचपास प्रक्रिया अघि बढाइरहेका छन्। भन्सारको यार्डमा रहेका गाडी क्रमशः पास हुँदै जानेछन्।” कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा सवारीसाधनको भन्सार प्रक्रिया अघि बढिसकेको छ। आईसीपीमा रोकिएका सवारीसाधनको पनि आवश्यक कागजी काम क्रमशः पूरा हुँदैछ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र वीरगन्ज नाकाबाट सात अर्ब १६ लाख रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक अर्ब ७५ करोड रुपैयाँ बढी हो। गत वर्षको पहिलो दुई महिनामा पाँच अर्ब २५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएका थिए।

भन्सार कार्यालयले आगामी दिनमा चाडपर्व नजिकिँदै गर्दा गाडीको जाँचपास प्रक्रिया अझ तीव्र पारिने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै