जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही असोज ७ गते बस्ने निर्णय सर्वदलीय बैठकबाट भएको छ ।
मधेश प्रदेशसभा संचालन गर्ने विषयमा सभामुख रामचन्द्र मण्डलले डोकेको सर्वदलीय बैठकबाट संघीयता रक्षाका लागि सम्पूर्ण दल एकजुट भइ अघि बढ्ने भन्दै यही असोज ७ गते प्रदेशसभा बैठक बस्ने निर्णय गरिएको छ ।
मधेश प्रदेशसभाको सभामुखको कार्यकक्षमा शनिबार बसेको संसदीय दल सम्मिलित सर्वदलीय बैठक बसेर असोज ७ गते मंगलबार प्रदेशसभाको बैठक बस्ने निर्णय भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
यसअघि विपक्षी दलले मधेश प्रदेशका अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएपछि अनिश्चितकालसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।
तर मधेश प्रदेशसहित देशव्यापी रुपमा भएको जेन– जी आन्दोलनपछि संघीयतामाथि फैलिएको सन्त्रास हटाउनका लागि मधेश प्रदेशसभामा उपस्थित रहेका सत्तापक्षी र विपक्षीहरुले संयुक्त रुपमा संघीयताका लागि मधेशका सम्पूर्ण दल एकजुट रहेको सन्देश दिइनका लागि समेत प्रदेशसभाको बैठक आवश्यकता रहेको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णकुमार यादवले बताए ।
सो सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा नेपाल, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका संसदीय दलका नेता तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
जेन– जी आन्दोलनको क्रममा मधेशको प्रदेशसभामा पनि आगजनी गरी क्षति पु¥याइएपछि अहिले दु्रतगतिमा प्रदेशसभा निर्माण कार्य भइरहेको छ ।