ट्रेन्डिङ

जेनजी आन्दोलनमा भत्किएका संरचना बनाउन वीरगन्ज महानगरले बजेट संसोधन गर्ने

असहाब आलमका परिवारलाइ ५ लाख रुपैंया

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पून: निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पूनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनेको थियो ।

नगरको सम्पत्ति खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर उक्त कार्यमा लगानी गर्ने निर्णय गरेको हो ।

विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेश गरेका थिए । महानगरको १७औं नगर परिषदले यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटभित्र नगरस्तरीय पूँजीगत योजना, सामाजिक विकास कार्यक्रमा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको हो ।

अहिले विकासे योजनाहरु स्थगित गरि कार्यपालिका बैठकबाट पुन:निर्माणका कार्यहरुको शिर्षक तर्जुमा गर्ने प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।

त्यसैगरी, अधिवेशनले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ ।

यसरी संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने नगरसभाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै