वीरगन्ज । मधेश प्रदेशको भूमि व्यवस्थापनमा एउटा ऐतिहासिक कदम चाल्दै पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीहरूले जग्गाधनी पुर्जा प्राप्त गर्न थालेका छन्।
भूमि समस्या समाधान आयोग, पर्साले शनिबार सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १, सथवलबाट लालपूर्जा वितरणको औपचारिक सुरुवात गरेसँगै दशकौँ लामो प्रतीक्षाको अन्त्य भएको छ।
आयोगका अध्यक्ष तबरेज अहमद र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ४४ जना भूमिहीनलाई लालपूर्जा हस्तान्तरण गरेका छन्। जसमा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासीहरू रहेका छन्। आयोगका अध्यक्ष अहमदले यो कार्यलाई आफ्नो जीवनको सबैभन्दा खुसीको क्षणको रूपमा व्याख्या गर्दै भने, ‘मैले आयोगको अध्यक्षको कार्यभार सम्हाल्ने बेलामै लालपूर्जा वितरण गर्ने वाचा गरेको थिएँ, र आज त्यो वाचा पूरा हुँदैछ।’
पर्साबाट सुरु भएको यो अभियान मधेश प्रदेशकै लागि पहिलो हो। आयोगले जिल्लाभरि ५,१७८ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी र सखुवा प्रसौनी गाउँपालिकाबाट प्राप्त आवेदनहरूको प्रमाणीकरण र नापजाँचको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको आयोगले जनाएको छ।
सथवलमा लालपूर्जा वितरण गरेपछि अब दसैँलगत्तै ठोरी गाउँपालिकाको वडा नम्बर ४ का १,१९७ जनालाई जग्गाधनी पुर्जा दिने तयारी गरिएको छ। अध्यक्ष अहमदका अनुसार बाँकी रहेका ५,१३४ जनाको सबै आवश्यक प्रक्रिया पूरा भइसकेकोले उनीहरूले पनि छिट्टै लालपूर्जा प्राप्त गर्नेछन्। यसले वर्षौंदेखि भूमिहीन भएर बसेका परिवारहरूको जीवनमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ।