वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ।
शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगरसभा)ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
गत भदौ २४ गते सचेत युवाहरू (जेनजी)ले गरेको आन्दोलनका क्रममा महानगर कार्यालयसहितका संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त भएपछि नगरसभा बसेको हो।
नगरको सम्पत्ति खरानी बनेपछि सेवा प्रवाह निरन्तरता दिन पुनःनिर्माणलाई प्राथमिकतामा राख्दै बजेट संशोधन गरिएको महानगरले जनाएको छ।
विशेष अधिवेशनमा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेस गरेका थिए।
यसअघि १७औं नगर परिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो।
सो बजेटभित्रको पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजन भएको रकमलाई कटौती गरी पुनःनिर्माणमा स्थानान्तरण गर्ने निर्णय भएको हो।
संशोधनपछि करिब ३० करोड रुपैयाँ पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ।
उक्त रकम प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर, फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती लगायत आवश्यक सामग्री खरिदमा प्रयोग गरिनेछ।
यसैगरी, विशेष नगरसभाले जेनजी आन्दोलनका क्रममा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागी मृत्यु भएका वीरगन्ज महानगरपालिका–१२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ।
नगरसभाले संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनर्स्थापना र प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने स्पष्ट पारेको छ।