वीरगन्ज । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड गरी भागेकामध्ये ८ हजारभन्दा बढी कैदीबन्दी अझै फरार रहेको पाइएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार, देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट गरी १४,५५५ जना भागेका थिए। तीमध्ये ६,१७९ जना मात्र फर्केका छन्।
विभागले दिएको तथ्यांकअनुसार, हालसम्म ८,३७५ जना कैदीबन्दी बेपत्ता छन्। जसमध्ये ७,७५३ जना कारागारबाट र ६२२ जना बाल सुधार गृहबाट भागेका हुन्।
आन्दोलनको समयमा भाग्न खोज्ने कैदीहरूलाई नियन्त्रणमा लिने क्रममा १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरूमा रामेछाप कारागारका ३, धादिङ कारागारका २ र नौबस्ता बाल सुधार गृहका ५ जना थिए।
घटना हुनुअघि देशभरका कारागारमा २९,२१२ र बाल सुधार गृहमा १,४२२ गरी कुल ३०,६३४ जना कैदीबन्दी थिए। यसमध्ये १५,५२१ जना भने भागेका थिएनन्।