वीरगन्ज । पर्सा जिल्लाका दलित महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने तालिम वीरगन्जमा सुरु भएको छ।
टेवा नामक संस्थाको आर्थिक सहयोग र दलित महिला संघ पर्साको आयोजनामा भएको यस तालिममा २८ जना महिलाको सहभागिता रहेको छ।
तालिमको दोस्रो दिन विशेष सत्रमा सहभागी महिलाहरूले नेतृत्व क्षमता, अधिकार र कानुनी जानकारीका साथै आर्थिक सशक्तिकरणका विषयमा ज्ञान प्राप्त गरेका छन्। तालिमको मुख्य लक्ष्य दलित महिलाहरूको सामाजिक सहभागिता र अधिकारप्रतिको सचेतना बढाउनु रहेको आयोजकले जनाएका छन्।
दलित महिला संघ पर्साकी संस्थापक निला रामको अध्यक्षतामा भएको कार्यक्रममा निभा सिंहले सहजीकरण गरेकी थिइन्। यसैगरी, विशेष सत्रमा वीरगन्ज महानगरपालिका८ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार संयोजक रितेश कुमार गुप्ताको उपस्थिति रहेको थियो।
अध्यक्ष निला रामले यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सहभागी महिलाहरूलाई तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरिन्। दलित महिला संघ पर्साले भविष्यमा पनि यस प्रकारका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।