वीरगन्ज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको जेन(जी प्रदर्शनमा घुसपैठ भएको र हिंसा मच्चाउन स्वचालित हतियारको प्रयोग भएको दाबी गरेका छन्।
उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत सरकारले गोली चलाउन आदेश नदिएको अवस्थामा पनि यस्ता हतियार प्रयोग हुनु शंकास्पद रहेको भन्दै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
ओलीले आफू प्रधानमन्त्री पदबाट हटेपछि सिंहदरबारदेखि देशको नक्सा, न्यायालय, व्यापारिक प्रतिष्ठान र नेता–कार्यकर्ताको निजी सम्पत्तिमाथि आगजनी भएको भन्दै यसलाई ‘नेपालको संविधान र सार्वभौमसत्तामाथिको ठूलो आक्रमण’को रूपमा चित्रण गरेका छन्।
उनले आफ्नो नेतृत्वको सरकारले देशलाई सही दिशामा लगेको दाबी गर्दै भने, ‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो ? वा बिग्रेको काल्पनिक भाष्य बनाएर मात्रै आक्रोश फैलाइएको थियो ? यी कुरा समयले आफैं भन्नेछ।’
ओलीले विदेश जान विमानस्थलमा देखिने भीडलाई नकारात्मक मान्नेहरूलाई अहिले मुलुक बाहिर जानै बन्द भएको अवस्थासँग तुलना गर्दै नयाँ पुस्ताले सत्य बुझ्ने विश्वास व्यक्त गरे।
अन्तमा, उनले काजी भीम मल्लको मृत्युदण्ड को इतिहास स्मरण गराउँदै असन्तोषलाई गलत दिशामा लगे त्यसको परिणाम पछुतोबाहेक केही नहुने चेतावनी दिए। उनले यथार्थभन्दा बाहिर गएर फैलाइएको असन्तोषले अन्ततः राम्रो बनिरहेको देशको स्मरण मात्रै गराउने बताए।