वीरगन्ज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आफू कुनै व्यक्तिगत महत्त्वाकांक्षा वा पदको लालसाले नभई देशको सङ्कट समाधान गर्न र युवा पुस्ताको आग्रहलाई सम्मान गर्न प्रधानमन्त्री बनेको बताएकी छन्।
सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मैले कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएको होइन।’ उनले आफू ‘परिवर्तनकामी युवा पुस्ताको अनुरोध’मा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापनका लागि जिम्मेवारी लिएको स्पष्ट पारिन्।
जेनजी आन्दोलनलाई औंल्याउँदै उनले यसलाई लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रिन नसकेको परिणामको रूपमा हेरिन्। प्रधानमन्त्री कार्कीले रोजगारी, गुणस्तरीय जीवन, पारदर्शिता, भ्रष्टाचारको अन्त्य र विकास जस्ता युवाका मागहरू राष्ट्रिय एजेन्डा भएको र ती माग पूरा गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताइन्।
उनले ६ महिनाभित्रै प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।