ट्रेन्डिङ

एमाले अध्यक्ष ओलीको बासस्थानको खोजी, एक–दुई दिनमा सार्वजनिक हुने

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निजी निवास ध्वस्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अस्थायी बसोबासको खोजी भइरहेको छ।

नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली केही दिनभित्रै सार्वजनिक हुने तयारीमा रहेको एमाले निकट स्रोतले जनाएको छ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको मुख्य निशानामा नेकपा एमाले परेको थियो। यस क्रममा एमालेका कार्यालयहरू र सयौं नेताका निवासमा तोडफोड र आगजनी भएका थिए। ओलीको निजी निवास बालकोट पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

स्रोतका अनुसार, ओलीले नयाँ बासस्थानको प्रबन्ध मिलाएर ३–४ दिनभित्र सार्वजनिक हुने योजना बनाएका छन्। ‘यदि परिस्थितिमा नयाँ फेरबदल आएन भने ३–४ दिनमा बाहिर आउनुहुन्छ,’ ओली निकट एक नेताले भने।

ओलीको अनुपस्थितिमा एमालेको कुनै औपचारिक बैठक बसेको छैन। ओलीले बाहिर आएपछि मात्रै बैठक बस्ने सन्देश दिएको र उनी अध्यक्ष पद नछाड्ने मनस्थितिमा रहेको स्रोतको भनाइ छ। ‘उहाँ बाहिर आएपछि पार्टी अध्यक्षकै रूपमा पूर्ववत् सक्रिय बन्नुहुने छ,ु ती नेताले भने, ुनेतृत्वमा फेरबदलको अहिले सम्भावना छैन।’

हाल ओली पार्टीका प्रमुख नेताहरूसँग नियमित सम्पर्कमा छन्। उनको निर्देशनअनुसार एमालेले भोलि संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम आन्दोलनमा जलाइएको च्यासलस्थित केन्द्रीय कार्यालयको भग्नावशेषमै गर्ने तयारी छ। कार्यक्रममा पार्टीका प्रमुख नेताहरूको उपस्थिति रहने बताइएको छ।

जेनजी आन्दोलनले देशमा राजनीतिक उथलपुथल ल्याएपछि एमालेभित्र पनि पार्टी पुनर्गठनको बहस सुरु भए पनि नेतृत्व तहबाट भने यसबारे कुनै संकेत देखिएको छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै