वीरगन्ज । जेनजी आन्दोलनले देशभरका प्रमुख राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको बहस सुरु भएको छ।
यसको प्रभाव अब मधेश केन्द्रित दलहरूमा पनि देखिन थालेको छ। मंगलबार बसेको संघीय लोकतान्त्रिक मोर्चाको सचिवालय बैठकमा दलहरूबीच एकता र रुपान्तरणको आवश्यकतामाथि छलफल भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माका अनुसार, बैठकले जेनजी आन्दोलनको समीक्षा गर्नुका साथै पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा कुराकानी भएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि युवा नेताहरूले नेतृत्व छाड्न प्रस्ताव गरेका छन्। यसमा यादवले सकारात्मक प्रतिक्रिया दिँदै भावनामा नबगी यथार्थमा आधारित भएर पार्टीको रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले मधेश केन्द्रित दलहरूबीच एकताका लागि पनि आफू तयार रहेको बताएका छन्।
यता, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जेनजी आन्दोलनले आफ्नो मोर्चामा खासै असर नपारेको बताए। उनले मोर्चा अब अझै संगठित भएर अघि बढ्ने जानकारी दिएका छन्। मोर्चाले असोज ३ गते संविधान दिवसलाई ‘कालो दिवस’का रूपमा मनाउने निर्णय पनि गरेको छ। उनीहरूका अनुसार, यो संविधान मधेशी, आदिवासी जनजाति र पिछडिएका समुदायमाथि जबर्जस्ती लादिएको छ।
झाले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मागलाई पूरा गर्न सरकारमाथि दबाब दिनुपर्नेमा जोड दिएका छन्। मोर्चाले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा आज शोकसभा गर्ने निर्णय पनि गरेको छ।