ट्रेन्डिङ

नेपालीका लागि यूएईको भिसामा रोक, हजारौँ युवा अन्योलमा

वीरगन्ज । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट र कामदार दुवै भिसा बन्द गरेको छ।

यो अचानकको निर्णयले वैदेशिक रोजगारीको तयारीमा रहेका हजारौँ युवा र म्यानपावर व्यवसायीहरू अन्योलमा परेका छन्।

सोमबार भिजिट भिसामा रोक लगाएको यूएईले मंगलबारदेखि कामदार भिसा पनि बन्द गरेको हो। यसको आधिकारिक कारणबारे अहिलेसम्म कुनै जानकारी नआए पनि नेपालमा हालै भएको जेनजी आन्दोलन र त्यसमा भएका तोडफोड, आगजनीका घटनालाई यससँग जोडेर हेरिएको छ। यद्यपि, यूएई सरकारले यसको पुष्टि गरेको छैन।

म्यानपावर व्यवसायीका अनुसार भिसाका लागि कम्पनीहरूले दिएका आवेदनहरू अस्वीकृत भएका छन्। पहिले अबुधाबी र दुबईले भिसा रोकेपछि सारजाहबाट भिसा प्रक्रिया चलिरहेकोमा अहिले त्यो पनि बन्द भएको छ। यसले कामदार भिसा टाइप भए पनि अन्तिम आवेदन दिन नपाउने अवस्था सिर्जना भएको छ।

यूएईस्थित नेपाली दूतावासले यस विषयमा कुनै पनि आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। श्रम सहचारी पंकज लाभ कर्णले अनौपचारिक रूपमा व्यवसायीहरूले जानकारी दिए पनि सरकारीस्तरबाट कुनै सूचना नआएको बताए।

यूएईको यो निर्णयले यसै महिना सारजाहमा हुने नेपाल र वेस्ट इन्डिजबीचको क्रिकेट खेल पनि प्रभावित हुन सक्ने देखिएको छ। नेपाल क्रिकेट एसोसिएसनको पहलमा हुन लागेको यो खेलका लागि खेलाडी र सहयोगीहरूको भिसामा समस्या आउन सक्ने अनुमान गरिएको छ।

यसअघि पनि इजिप्ट, पाकिस्तान, बङ्गलादेश, इथियोपिया र युगान्डाका नागरिकका लागि भिसा रोकिसकेको यूएईले अहिले सोही सूचीमा नेपाललाई पनि थपेको हो। यूएई अध्यागमनले नेपाली नागरिकका सबै भिसा आवेदन रोकेको भए पनि यो रोक अस्थायी हो वा स्थायी भन्नेबारे स्पष्ट भएको छैन। पछिल्ला दिनमा आपराधिक गतिविधिमा नेपालीहरूको संलग्नता बढेको भन्दै यूएईका निकायले बारम्बार चेतावनी दिँदै आएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै