ट्रेन्डिङ

१ खर्बको स्रोत जुटाउने अर्थमन्त्री खनालको घोषणा

वीरगन्ज । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै राजनीतिक दबाबमा परेका, तयारी नभएका र टुक्रे आयोजनाहरू कटौती गरेर करिब एक खर्ब रुपैयाँको स्रोत जुटाउन सकिने बताएका छन्।

उनले आगामी ६ महिनाभित्रै निर्वाचन र पुनर्निर्माणका कामहरूका लागि यो स्रोत परिचालन गरिने जानकारी दिए।

मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री खनालले बजेटमा रहेका कार्यक्रमहरू कटौती गर्नका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन्। यस कार्यदलले बजेटका आयोजनाहरूलाई प्राथमिकीकरण गरी अनावश्यक खर्चमा लगाम लगाउनेछ।

मन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा सिंहदरबारमा भएको ठूलो क्षतिको सन्दर्भमा तत्काल भग्नावशेष हटाएर रंगरोगन गर्न निर्देशन दिए। उनले भने, ‘कालो लागेको भित्ता रंगरोगन गरौं। हामी विनासबाट उठ्यौँ भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ।’

उनले सार्वजनिक सम्पत्तिको बीमा नभएको अवस्थामा निजी सवारीमा भएको क्षतिको दायित्व भने बीमाबाट पूर्ति हुने बताए। साथै, नयाँ सवारी साधन खरिद नगरी पुराना कवाडीलाई बिक्री गर्न र तत्काल पुनर्निर्माण सुरु गरी देश केही महिनामै उठ्न सक्छ भन्ने सन्देश दिन आवश्यक रहेकोमा जोड दिए।

युवाहरूले आफ्नो ज्यानको आहुती दिएर मुलुकको समस्या समाधान गरेको भन्दै मन्त्री खनालले उनीहरूले आफूहरूलाई विश्वास गरेको बताए। ‘गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ,’ उनले भने।

उनले कर्मचारीहरूलाई विगतका गल्ती बिर्सिन र स्रोतको दुरुपयोग नगर्न निर्देशन दिए। सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न पनि उनले कडा निर्देशन दिए। निजी क्षेत्रमाथि भएको आक्रमणको स्मरण गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने र राजस्व असुलीमा क्रुर नभई सेवामा सुधार गर्दै जानुपर्ने बताए।

मन्त्री खनालले सार्वजनिक खर्च व्यवस्थापनलाई प्राथमिकतामा राख्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसहरू कार्यान्वयन गरिने पनि स्पष्ट पारे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै