ट्रेन्डिङ

वीरगन्जमा आजदेखि निषेधाज्ञा हटाइयो, तर रातभर कर्फ्यू जारी

वीरगन्ज । जेनजी आन्दोलनपछि लगाइएको कर्फ्यू र निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालय पर्साले खुकुलो पारेको छ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बिहान ५ बजेदेखि साँझ ९ बजेसम्मका लागि लगाइएको निषेधाज्ञाको आदेश आजदेखि हटाएको छ।

जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको र नागरिकको जनजीवन सामान्य बनाउनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर निषेधाज्ञा हटाइएको कार्यालयले सूचना जारी गरि जनाएको छ । यसले नागरिकलाई निर्बाध रूपमा आवागमन गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न सहज भएको छ।

यद्यपि, वीरगन्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा लगाइएको दंगाग्रस्त क्षेत्र र रात्रिकालीन कर्फ्यूको आदेश भने अर्को सूचना जारी नभएसम्मका लागि यथावत् राखिएको छ। शान्ति सुव्यवस्था कायम गर्न आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय, पर्सा र त्यसको कम्पाउन्डभित्रको क्षेत्रमा गरि दुई स्थानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रशासनले शान्ति सुव्यवस्था थप सुदृढ भएपछि यी आदेशहरूमा पनि पुनर्विचार गरिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयहरूबाट प्रदान हुने सेवाहरू भदौ २९ गतेदेखि नै सुरु भइसकेको जानकारी दिएको छ। आन्दोलनका कारण सेवा लिन नपाएका सेवाग्राहीहरूलाई ध्यानमा राखेर, भदौ २४ गते राष्ट्रिय परिचयपत्र बनाउन टोकन लिएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकता दिइने भएको छ।

प्रशासनले जिल्लामा शान्ति र सुव्यवस्था कायम राख्न तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्न जारी गरिएका आदेशहरूको पालनाका लागि सबै जिल्लाबासीलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै