वीरगन्ज । जिल्ला कारागार महोत्तरीले कैदीबन्दीलाई स्वेच्छाले कारागार फर्किन २४ घण्टे अल्टिमेटम दिएको छ ।
कारागार प्रशासनले बुधबार एक पत्र जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो । कारागार प्रशासनका अनुसार आन्दोलनका क्रममा मंगलबार बेलुका करिब ७ बजेतिर कारगारको बन्दीगृहमा अप्रत्यासित रूपमा भागमभाग मच्चिएको थियो । सोही क्रममा भागेका कैदीबन्दीलाई स्वेच्छाले २४ घण्टाभित्र कारागार कार्यालय महोत्तरीमा फर्किन कारागार प्रशासनले अपिल गरेको हो ।
साथै प्रशासनले कैदीहरु नफर्किए कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ । अपिल पत्रमा भनिएको छ, ‘स्वेच्छाले कैदीबन्दीहरू कारागार प्रशासनमा नफर्केमा कानुन बमोजिम सजायको व्यवस्थासमेत हुने जानकारी सबैमा अनुरोध गर्दछ ।’