वीरगन्ज । नेपाली सेनाले देशभर जारी जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन अपिल गरेको छ।
जंगी अड्डाले आज जारी गरेको विज्ञप्तिमा नेपाली जनताको जिउधनको सुरक्षाका लागि सेना सधैं प्रतिबद्ध रहेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ।’ साथै, सेनाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
हाल विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले नेपाल र नेपाली जनताको सुरक्षा गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याएको छ। यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको भन्दै सेनाले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गरेको छ।