जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि ६० जना बालबालिकालाई अस्पताल भर्ना गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार, आज दिउँसो खाजा खाने क्रममा एक बालकको प्लेटमा छेपारो भेटिएको थियो। बालकले छेपारो देखेर कसैलाई नभनी आफ्नो खाजा फ्याँकेर घर फर्के। उनले आफ्ना अभिभावकलाई घटनाबारे सुनाएपछि मात्रै विद्यालय र अन्य अभिभावकले यस विषयमा थाहा पाए।
यस घटनापछि खाजा खाएका केही बालबालिकाहरूले वाकवाकी लागेको बताएका थिए। कुनै अप्रिय घटना नहोस् भनी सतर्कताका लागि अभिभावक र विद्यालयको पहलमा सबै बालबालिकालाई प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो।
अस्पतालका आकस्मिक कक्ष इन्चार्ज शरद यादवले भने, ‘हामीले बालबालिकाहरूको स्वास्थ्य जाँच गरेका छौं। उनीहरूमा कुनै गम्भीर समस्या देखिएको छैन। अभिभावकको चिन्ता र सुरक्षाको लागि मात्रै उनीहरूलाई अस्पतालको निगरानीमा राखिएको हो।’