वीरगन्ज । नेपालमा सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सरकारले ल्याएको नयाँ नियमपछि फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत आवश्यक कागजातको जानकारी माग गरेका हुन्।
ठाकुरले भने, ‘मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ। हामीले तत्कालै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिँदै जवाफ दिएका छौं।’
हालै नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई क्रमशः सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो। सरकारको यो निर्णयले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ ठूलो चर्चा पाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले पनि २६ वटा सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाउन इन्टरनेट प्रदायक कम्पनीहरूलाई पत्राचार गरिसकेको छ।
यो कदमलाई सामाजिक सञ्जालहरूलाई नेपालको कानुन र क्षेत्राधिकारभित्र ल्याउने सरकारको महत्त्वपूर्ण प्रयासको रूपमा हेरिएको छ। मेटाको यो पहलले नेपालमा अन्य ठूला सामाजिक सञ्जाल कम्पनीहरू पनि दर्ता प्रक्रियामा आउने सम्भावना बढेको छ।