वीरगन्ज । नेपाल पत्रकार महासंघले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउने भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बिहीबारदेखि नै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रतामा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ। महासंघले कुनै पनि विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको सूचना पाउने अधिकारमाथि नै गम्भीर असर पर्ने भन्दै सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गरेको छ।
महासंघले सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्नुपर्ने पक्षमा आफू रहेको बताए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यमलाई नियन्त्रण गर्ने कदम स्वीकार्य नभएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा, नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सामाजिक सञ्जालमाथि लगाइएको नियन्त्रण तत्काल हटाउन सरकारसँग जोडदार माग गरिएको छ।