ट्रेन्डिङ

प्रहरीको अपील : राती अबेर कुकरमा सिठ्ठी नलगाउनुहोस्, शौचालय फ्लस गर्दा ठूलो आवाज आउन नदिनुहोस्

काठमाण्डौं । नेपाल प्रहरीले बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले एक अभियानको थालनी गरेको छ ।

प्रहरीले एक सूचना जारी गर्दै  ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको जनाएको छ। जसअनुसार सूचनामार्फत प्रहरीले विभिन्न ५ बुँदे अपील जारी गरेको छ ।

प्रहरीको सूचनामा भनिएको छ, ‘विभिन्न मानविय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनि प्रदूषणका कारण खासगरी गर्भवति महिला, मुटुरोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वस्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्भसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवम् सामाजिक सम्बन्धहरुमा समेत प्रतिकुल असर पर्न जाने भएको हुँदा तपाईको घर, परिवार र छिमेकीहरुको हितका लागि निम्न  कार्यहरु पालना गर्नुहुन अनुरोध गरिएको छ । शान्त समाज, सभ्य समाजको पहिचान पनि हो । ध्वनि, धुवाँ र प्रदूषण मुक्त छिमेकी अभियानको थालनी गरौँ ।’

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने जनाइएको छ। 

विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ । 

बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठुलो हर्न बजाउने कार्य नगर्न प्रहरीको अनुरोध छ । 

यसैगरी राति अबेर कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन र सिडी प्रयोग गर्दा आवाज कम गर्न पनि प्रहरीले सूचनामार्फत अनुरोध गरेको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै