वीरगन्ज । सरकारले नेपालमा दर्ता नभएका सबै सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार अब नेपालमा सञ्चालन हुन चाहने सामाजिक सञ्जालले मन्त्रालयमा सूचीकृत हुनैपर्नेछ।
यस निर्णयसँगै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अन्योल छाएको छ। धेरैले युट्युब, फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्रामजस्ता लोकप्रिय सामाजिक सञ्जालहरू पनि बन्द हुने हो कि भनेर प्रश्न गरिरहेका छन्।
निर्देशिका, २०८० ले सामाजिक सञ्जाल र यसका प्लेटफर्मलाई स्पष्ट रूपमा परिभाषित गरेको छ।
सामाजिक सञ्जाल भन्नाले कम्प्युटर, इन्टरनेट वा अन्य विद्युतीय माध्यमबाट व्यक्ति वा समूहलाई अन्तरक्रियात्मक सञ्चारको सुविधा प्रदान गर्ने समूह, ब्लग, एपहरू लगायतका सञ्जाललाई जनाउँछ।
सामाजिक सञ्जाल प्लेटफर्म भन्नाले विचार, सूचना वा प्रयोगकर्ताले बनाएका सामग्री आदानप्रदान गर्न सुविधा दिने फेसबुक, एक्स, ह्वाट्सएप, भाइबर, इन्स्टाग्राम, युट्युब, लिंक्डइन, वी च्याटजस्ता सार्वजनिक प्रणालीहरूलाई भनिएको छ।
निर्देशिका अनुसार अब यी सबै प्लेटफर्महरूले नेपालमा सञ्चालनका लागि सरकारसँग सूचीकरण गर्नुपर्नेछ। सूचीकृत नभएका सञ्जालहरूलाई सरकारले निष्क्रिय पार्ने निर्णय गरेको हो। यस निर्णयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको सरकारी अधिकारीहरूले बताएका छन्।