ट्रेन्डिङ

लहानमा आमा र पाँच वर्षीय छोरा मृत फेला, अर्का छोराको अवस्था गम्भीर

सिरहा । जिल्लाको लहान नगरपालिका–१ स्थित मटियर्वामा डेरा गरी बस्ने एक महिला र उनका पाँच वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन् भने अर्का नौ महिनाका छोराको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेहरूमा लहान नगरपालिका–१२ भोटियाटोलकी २३ वर्षीया रञ्जिता चौधरी र उनका पाँच वर्षीय छोरा एरोज चौधरी रहेका छन्। नौ महिनाका अर्का छोरालाई भने अचेत अवस्थामा फेला पारी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी कैलाश राईका अनुसार, प्रारम्भिक अनुसन्धानले यो घटना आत्महत्या भएको हुन सक्ने देखाएको छ। ‘शवको प्रकृति हेर्दा आमा रञ्जिताले दुवै छोरालाई विष खुवाएर आफूले झुन्डिएर आत्महत्या गरेको जस्तो देखिन्छ,’ डीएसपी राईले भने। शवबाट गन्ध आउन थालेकाले घटना एक दिनअघि नै भएको अनुमान गरिएको छ।

घटनास्थलमा प्रहरी पुग्दा रञ्जिता झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। स्थानीयहरूले घरको झ्यालबाट हेर्दा रञ्जितालाई झुन्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार रञ्जिताका श्रीमान् प्रवीण चौधरी विगत तीन–चार दिनदेखि डेरामा आएका थिएनन् र उनी अझै प्रहरीको सम्पर्कमा आएका छैनन्। प्रवीण चौधरी लहान बजारमै ज्याला मजदुरीको काम गर्ने गरेको बताइएको छ।

प्रहरीले शवहरूको पोस्टमार्टमका लागि पठाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै