कलैया । सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्ला प्रशासन कार्यालय बारामा आफ्नो जिम्मेवारी सम्हालेपछि पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लामा सहज सेवा प्रवाह र शान्ति सुरक्षा कायम गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।
उनले आफूलाई सरकारको प्रमुख प्रतिनिधिको रूपमा हेर्दै, सरकारी सेवाहरूलाई जनतासम्म सहज र प्रभावकारी ढंगले पुर्याउन विभिन्न निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा पत्रकारहरूले प्रजिअ पौडेललाई जिल्लाका मुख्य समस्याहरू र सुधारका क्षेत्रहरूबारे जानकारी गराएका थिए। उनीहरूले सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती, बिचौलियाको सक्रियता, कर्मचारीको समयमा उपस्थिति नहुने प्रवृत्ति, सडक सुरक्षा, यातायात र पार्किङ व्यवस्थापन, हुलाकी सडकमा सीसीटिभी जडान, चोरी तस्करी नियन्त्रण, बजार अनुगमन, र शिक्षा तथा स्वास्थ्य क्षेत्रको अनुगमनमा ध्यान दिन सुझाव दिए।
यसका साथै, पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयभित्रै सेवाग्राहीका लागि टोकन प्रणाली, पार्किङ र शौचालयको उचित व्यवस्थापन गर्न पनि आग्रह गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले प्रजिअ पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए। उनले प्रजिअले गर्ने कामको मूल्याङ्कन जनताले नै गर्ने बताउँदै सबै नागरिकले समान व्यवहार र पहुँच पाउनुपर्नेमा जोड दिए। अध्यक्ष सुवेदीले पहुँचवाला र सर्वसाधारणबीचको व्यवहारमा कुनै फरक नहोस् भन्ने आफ्नो अपेक्षा रहेको बताए।
प्रजिअ पौडेलले तत्कालै कुनै योजना घोषणा गर्नुभन्दा पनि जिल्लाका अवस्थाबारे बुझेर आफ्नो अधिकार क्षेत्रभित्रका कामहरूलाई व्यवस्थित गर्दै लैजाने बताए।