जनकपुरधाम । सङ्घीय लोकतान्त्रिक मोर्चाले ‘वर्तमान राजनीतिक अवस्था बारे जनजागरण अभियान’ आजबाट विराटनगरमा सुरु गरेको छ।
जनता समाजवादी पार्टी नेपालको समन्वयमा आयोजित कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्दै उत्पीडित समुदायको अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायले राष्ट्रिय तथा जातीय पहिचान, स्वायत्तता र स्वशासन खोजेको बताए। उनले सबै उत्पीडित समुदाय एक हुनुपर्नेमा जोड दिए।
यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विगतमा आदिवासी जनजाति, मधेशी, थारू, दलित र पिछडा वर्गहरूले छुट्टाछुट्टै संघर्ष गर्दा असफल भएको भन्दै अब मिल्नुको विकल्प नरहेको बताए।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकारका लागि संघर्ष गर्नेहरूमाथि सरकारले झूटो मुद्दा लगाएर जेलमा राखेको आरोप लगाए। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशी समुदाय सामाजिक र राजनीतिक रूपमा विभाजित रहेकोले एक हुनुपर्ने धारणा राखे।
मोर्चाका केन्द्रीय सचिवालय सदस्य केशव झाले संविधान संशोधनको पक्षमा जनमत तयार गर्न, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, आन्दोलनकारीमाथिको मुद्दा खारेज गर्न, र भूमि विधेयकको विरोध गर्न यो मोर्चा गठन गरिएको बताए।
अभियानको पहिलो चरणमा देशका विभिन्न आठ स्थानमा कार्यक्रम हुनेछन्। जसअनुसार अब भदौ १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुने तय भएको छ।