ट्रेन्डिङ

संघीय समाजवादी महिलाको केन्द्रीय तदर्थ समिति गठन, संयोजकमा प्रेमा मगर

वीरगन्ज । नेपाल सङ्घीय समाजवादी पार्टीले महिला सशक्तीकरणको मुद्दालाई केन्द्रमा राख्दै संघीय समाजवादी महिला संगठनको केन्द्रीय तदर्थ समिति गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा आयोजित एक कार्यक्रममा १७ सदस्यीय समिति घोषणा गरिएको हो। यस कदमलाई महिलाको अधिकार, समान सहभागिता र न्यायको यात्रामा एउटा महत्वपूर्ण अध्यायको रूपमा हेरिएको छ।

नवगठित समितिको संयोजकमा प्रेमा मगर चयन भएकी छन्। उप–संयोजकमा रेनु डङ्गोल, महासचिवमा निर्मला बराल, सचिवमा जानुका सुनुवार राई र कोषाध्यक्षमा फुलमाया वाइवा रहेका छन्। समितिका अन्य ११ जना सदस्यहरूमा आसिमा खातुन, शेख अमिना खातुन, अन्जु सिंह ठकुरी, नानीमाया वाइवा, तबसम्म खातुन, अख्तरी खातुन, रोशन खातुन, सन्ध्या लिम्बु, रमा महर्जन, सिमा लामा र रुपा लामा रहेका छन्।

कार्यक्रममा पार्टीका नेताहरूले महिलाको अधिकारका लागि थप सशक्त संघर्षको आवश्यकता औंल्याए। पार्टी महासचिव अनन्त राईले महिलाले अब ३३ प्रतिशत मात्र होइन, ५० प्रतिशत समान अधिकारका लागि संघर्ष गर्नुपर्ने बताए। ‘यो लडाइँ महिलाको मात्र होइन, हाम्रो सामूहिक लडाइँ हो,’ उनले भने।

केन्द्रीय सचिव दिनेश पाख्रिनले नेपालमा अझै महिलालाई दासीझैं व्यवहार गरिने र संविधानले दिएको अधिकार समाजले स्वीकार नगरेको यथार्थ रहेको बताए। उनले यस संगठनले देशभर राजनीतिक प्रशिक्षणमार्फत अन्यायविरुद्ध चेतना जगाउनुपर्ने आवश्यकतामा जोड दिए।

भेलाले आगामी एक वर्षभित्र ७७ वटै जिल्लामा समिति विस्तार गर्ने, सदस्यता अभियान चलाउने र राजनीतिक प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने ऐतिहासिक निर्णय गरेको छ। यसका साथै, समितिले निकट भविष्यमै संघीय समाजवादी महिला संगठनको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने लक्ष्य राखेको छ।

पार्टी उपाध्यक्ष तथा केन्द्रीय महिला इन्चार्ज सीमा खानले कार्यक्रमको अध्यक्षता गर्दै महिलालाई अधिकार खोजेर मात्र नपुग्ने, पढ्नुपर्ने, संगठित हुनुपर्ने र लड्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै