वीरगन्ज । नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र माओवादी केन्द्रसँगको सम्भावित एकताबारे मतभेद चर्किएको छ।
पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल नजिकका नेताहरूले माओवादीसँगको एकता स्वीकार्य नहुने निष्कर्ष निकालेका छन्।
आइतबार काठमाडौँमा भएको एक अनौपचारिक भेलामा उनीहरूले पार्टीको आन्तरिक अवस्था र माओवादीसँगको एकताको प्रयासबारे छलफल गरेका थिए। भेलाका सूत्रधार जीवनराम श्रेष्ठले माओवादीसँगको एकताको वार्तामा सहभागी नभएका नेताहरूको धारणा बुझ्ने उद्देश्यले बैठक आयोजना गरिएको बताएका थिए।
भेलामा सहभागी नेताहरूले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको आरोप लागेकाले जनतामाझ जान समस्या भएको भन्दै पार्टीलाई विशेष महाधिवेशनमार्फत नयाँ म्याण्डेट दिनुपर्ने धारणा राखेका छन्। उनीहरूले हालै सम्पन्न १०औँ महाधिवेशन कर्मकाण्डी भएको र नेतृत्वले आफू निकट व्यक्तिहरूको मात्र भर्तीकेन्द्र बनाएको आरोप लगाए।
स्थायी कमिटी सदस्य डा. विजय पौडेल, पोलिटब्युरो सदस्य रामकुमारी झाँक्री लगायतका नेताहरूले यदि माओवादीसँग पार्टी एकताको प्रस्ताव आएमा त्यसलाई अस्वीकार गरी एकीकृत समाजवादीलाई नै अगाडि बढाउने साझा निष्कर्ष निकालेका छन्। उनीहरूले अध्यक्ष नेपालले पार्टी बैठकहरू पटक–पटक सारेर एकलौटी निर्णय गर्न खोजेको आरोप पनि लगाएका छन्।
यी नेताहरूका अनुसार पार्टीको बैठक नबसेकै अवस्थामा अध्यक्ष नेपालले माओवादीसँग पार्टी मिलाउने खतरा रहेको उनीहरूको आशंका छ।