वीरगन्ज । अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिँदा नेपाली बजारमा पनि सुनको भाउले ऐतिहासिक उचाइ कायम गरेको छ।
सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ। यसको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३,४८० अमेरिकी डलर हाराहारी पुग्नु हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा मुख्यगरी दुई कारण जिम्मेवार देखिएका छन् । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले सेप्टेम्बरको मध्यतिर ब्याजदर ०.२५ प्रतिशतले घटाउने चर्चा चलेको छ। ब्याजदर घट्दा लगानीकर्ताहरू सुनजस्तो सुरक्षित सम्पत्तिमा लगानी गर्न आकर्षित हुन्छन्, जसले गर्दा सुनको माग बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ब्याजदर घटाउन केन्द्रीय बैंकलाई दबाब दिइरहेका छन्।
अर्को अमेरिका र भारतबीच बढ्दो व्यापार युद्धले पनि सुनको मूल्यमा प्रभाव पारेको छ। विश्वमा राजनीतिक तथा व्यापारिक द्वन्द्व बढ्दा सुनको मूल्य महँगिने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए। भारत गरगहनाका लागि ठूलो बजार हो र यस व्यापार युद्धले सुनको माग र मूल्यमा असर परेको छ।
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिको आधारमा सुनको मूल्य घटबढ भइरहन्छ। प्राविधिक विश्लेषण गर्ने विज्ञहरूले भविष्यमा सुनको मूल्य अझ बढ्न सक्ने प्रक्षेपण गरेका छन्। क्वाइन कोडेक्सको प्रक्षेपणअनुसार डिसेम्बरको अन्त्यसम्ममा सुनको मूल्य प्रति औंस ३,७८० डलरसम्म पुग्न सक्छ। यदि यो अनुमान सही साबित भएमा नेपाली बजारमा सुनको मूल्य प्रति तोला २ लाख २३ हजार रुपैयाँसम्म पुग्न सक्छ।
यसभन्दा अझै दीर्घकालीन प्रक्षेपण गर्दै, क्वाइन कोडेक्सले २०२६ को अन्त्यसम्ममा सुन प्रति औंस ४,३०० डलर पुग्ने अनुमान गरेको छ। यदि यस्तो भयो भने नेपाली बजारमा सुनको मूल्य प्रति तोला २ लाख ५२ हजार रुपैयाँ हुन जानेछ।